काठमाडौं- दुई वर्षदेखि संसदमा थन्किएको अमेरिकी मिलिनयम मोडेल च्यालेन्ज कर्पोरिसन (एमसीसी) अघि बढाउनेमा सबै दल सहमत भएका छन् ।
आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमसीसीलाई छलफलका लागि अघि बढाउनेमा सबै दलका नेताहरु सहमत भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमसीसी प्रस्ताव सभामुखले अड्काएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको कडा आलोचना गरेका थिए ।
‘एउटै विधेयक पौने दुई वर्षसम्म अड्काउन मिल्छ ? सभामुखले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भने, ‘यसलाई पास गर्ने कि नगर्ने भन्ने निर्णय गर्नलाई त छलफल हुनुपर्यो नि । त्यसैले छलफलका लागि अघि बढाउने कुरामा सबै दलबीच सहमति भएको हो ।’
जनप्रतिनिधि रिक्त रहेका स्थानमा निर्वाचन गराउने विषयमा पनि छलफल भएको छ । जसमा कांग्रेसले भदौमा आफ्नो महाधिवेशन हुने भएकाले महाधिवेशन प्रभावित नहुनेगरी निर्वाचनको कार्यकतालिका सार्वजनिक गर्न अनुरोध गरेको ।
यसमा प्रधानमन्त्री ओलीले कांग्रेसको महाधिवेशन प्रभावित नहुनेगरी नै निर्वाचन तालिका सार्वजनिक गर्ने आश्वासन दिएको ज्ञवालीले बताए ।
जसपाले पनि संसदमा लामो समयदेखि अड्किएको नागरिकता विधेयकका विषयमा चासो राखेको छ । तत्काल अघि बढाउनुपर्ने जसपाका नेता महन्थ ठाकुरले बताए ।
कांग्रेसले बैठकमा कोभिड व्यवस्थापनमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । साथै कांग्रेसले अहिलेको राजनीतिक संटकबाट निकास दिन पनि माग गरेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
‘हामीले कोभिड व्यवस्थापनमा सरकारले गम्भीरताका साथ लिनुपर्ने विषयलाई मुख्य बनाएका छौं । तर, अहिलेको राजनीतिक संकटबाट पनि छिटो निकास दिनुपर्ने माग गरेका हौं । एमसीसीका विषयमा पछि छलफल भएको छ । पास गर्ने कि नगर्ने भन्ने विषयमा एमसीसीलाई छलफलका लागि अगाडि बढाउनुपर्ने विषयमा सकारात्मक छलफल भएको हो,’ उनले भने ।