काठमाडौं- कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो ।
एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।
उनले ४६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ६२ रनको योगदान दिए ।
यस्तै आशिफ शेखले अविजित ५४ रन बनाए । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए । बलिङतर्फ नेदरल्याण्ड्सका जुलियन डे मेइले एक विकेट लिए ।
यसअघि नेदरल्याण्डस्का लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाएका थिए ।
यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सिलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रन बनाएका थिए ।
नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।
सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काएका थिए ।
नेदरल्यान्ड्सको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले बेन कोपरलाई बिना कुनै रन पेभेलियन फर्काएका थिए ।
खेलको १४औँ ओभरको पाँचौं बलमा नेदरल्यान्ड्सका इड्वार्डलाई साहब आलमले मैदान बाहिर पठाए ।
खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिए ।
लामिछानेले चार ओभर बलिङ गर्दै २२ रन खर्चिए । यस्तै कामीले चार ओभरमा मात्र १३ रन खर्चिए । करण केसीले चार ओभरमा २२ रन खर्चिए भने अभिनाष बोहराले चार ओभरमा २५ रन खर्चिए पनि विकेट लिन सके ।