चौबीस घण्टे आकस्मिक सेवा तीन सातादेखि ठप्प-Sutra News

चौबीस घण्टे आकस्मिक सेवा तीन सातादेखि ठप्प

शनिबार, ४ बैशाख २०७८

शनिबार, ४ बैशाख २०७८

महेन्द्रनगर- महाकाली नगरपालिका-९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो । सदरमुकाम खलङ्गामा बस्दै आएका ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा जनाए ।



महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन् । चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरिएको हो ।

उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पुर्याइएको थियो । यो त एक प्रतिनिधि घटना मात्रै हो । उनजस्तै दर्जनौँ गर्भवतीले अहिले जिल्ला अस्पताल पुगेर गोकुलेश्वर वा पिथौरागढ सिफारिस हुनुपर्ने बाध्यता छ ।

अस्पतालमा बच्चा पाउन आउने गर्भवतीको जिल्लामै सुत्केरी हुन नसक्दा बिचल्ली भएको छ । सहजरूपमा जिल्लामै हुने शल्यक्रियाका लागि गोकुलेश्वर जाँदा रु छ हजार तिर्नुपरेको आफन्तजन बताउँछन् ।

गर्भवतीका लागि भन्दै चौबीसै घण्टे आकस्मिक प्रसूति सेवा केन्द्र राखिएको तर जिल्ला अस्पतालको आकस्मिक प्रसूति केन्द्र तीन सातादेखि बन्द छ । जिल्लाको मुख्य अस्पतालको स्वास्थ्य सेवा लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने उदासिन बनेको बिरामी बताउँछन् ।

जिल्ला अस्पताल दार्चुलामा आकस्मिक सेवा हेर्दै आएका मेडिकल अधिकृत नवीनकिशोर मल्ल धनगढी र अस्पताल निमित्त प्रमुख एवं एमडिजीपि डा.आर्दश लिम्बू काठमाडौं तालिममा गएपछि आकस्मिक सेवा बन्द भएको छ ।

शल्यक्रिया गर्नका लागि चिकित्सक चाहिन्छन् प्रसूति सेवा कार्यरत एक स्टाफ नर्सले भनिन्, ‘हामीले त्यो गर्न सक्दैनौँ ।’

चिकित्सक नहुँदा चैत दोस्रो सातादेखि अस्पतालमा शल्यक्रिया हुनसकेको छैन । अस्पतालमा आउने गर्भवतीलाई गोकुलेश्वर पठाउने गरिएको उनको भनाइ छ ।

शुक्रबार मात्र दुई सुत्केरी व्यथा लागेर आएका महिलालाई पठायौँ । अस्पताल हो तर सबै चिकित्सक एकैपटक तालिममा जाँदा अस्पतालको स्वास्थ्य सेवा नाजुक बनेको उनको भनाइ छ ।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्ट चिकित्सकहरूको तालिम परेका कारण जिल्ला बाहिर जानुपरेको बताउँछन् ।

यस बीचमा बिरामी हेर्न गोकुलेश्वरबाट चिकित्सक मियाज अन्सारी एक साता जिल्ला अस्पतालमा काम गरेर फर्किएका छन् ।

शुक्रबार र शनिबार अस्पतालमा चिकित्सक नै छैनन् । प्रदेश सरकारमार्फत खटाइएका डा.देवेन्द्र नेगी आज बेलुकीसम्म आइपुग्ने अस्पतालले जनाएको छ ।

‘बिरामीको चाप बढी नै छ’, उनले भने, ‘हामीले सक्दो सेवा दिएका छौँ’, भट्टले भने ।

अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् ।

एक जनामात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ । पछिल्लो समय अस्पतालमा दक्ष जनशक्तिसमेत छैन ।

दक्ष जनशक्ति नहुँदा गत मङ्सिरमा जडान गरिएको आइसीयू र भेन्टिलेटर शय्या प्रयोगमा आएको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट