कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्छ: प्रचण्ड-Sutra News

कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्छ: प्रचण्ड

आइतबार, ५ बैशाख २०७८

आइतबार, ५ बैशाख २०७८

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।



उनले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’ यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए ।

यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’

यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो । कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’

जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवद्र्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट