काठमाडौं- दैलेखमा बस पल्टिँदा ११ जना घाइते भएका छन् । दैलेख-काठमाडौं चल्ने ना ७ खा ६९६३ नम्बरको रात्री बस दैलेखको गुराँस गाउँपालिका-४ गाईबान्ना भन्ने ठाउँ नजिकै पल्टिएको हो ।
बसमा सवार २९ जनामध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक अनुप श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।
शनिबार बेलुका काठमाडौंबाट छुटेको उक्त बस आज दिउँसो करिब साढे १ बजेतिर उक्त ठाउँमा पल्टिएको हो । गाडी अनियन्त्रित भएर पल्टिएको डिएसपी श्रेष्ठले बताए ।
बसका चालकलाई नियन्त्रणमा लिइएको छ । बस बीच बाटोमै पल्टिएकाले सवारी जाम भएको र खुलाउनका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।