पर्वत- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधव नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।
सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।
उनले बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताए ।
उनले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाए ।
उनले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताए ।