स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित-Sutra News

स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

सुर्खेत- पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् ।



रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शंका थालेका छन् ।

जुम्ला तातोपानी गाउँपालिका-८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमा करिब ४० प्रतिशतमा विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको सोही विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए ।

‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ’, उनले भने ।शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँचजना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ ।

उक्त कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताए ।

‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,’ प्रमुख सापकोटाले भने, ‘जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ ।’

उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको उनले बताए ।

विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए ।

सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको बताए ।

यो समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको थियो ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा.सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको बताए ।

उनले भने, ‘यसमा हेलचेक्र्याइँ गर्नुहुन्न । हरेकले संवेदनशीलता भने अपनाउन जरुरी छ ।’

मौसम बदलिएसँगै जुम्लाको भेरीखोला, सिञ्जा र चौधबीस क्षेत्रमा ज्वरोका बिरामी बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट