कोरोना खोपको दोस्रो मात्रा भोलिदेखि-Sutra News

कोरोना खोपको दोस्रो मात्रा भोलिदेखि

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं- सरकारले मंगलबारदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदै छ ।



गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् ।

पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख मानिसले लगाएका थिए ।

एक लाख २३ हजारलाई ‘भेरोसेल’

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् ।

खोप शाखाका प्रमुख डा.गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको जानकारी दिए ।

‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो ।

गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो । उनले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट