कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?-Sutra News

कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

मंगलबार, ७ बैशाख २०७८

मंगलबार, ७ बैशाख २०७८

काठमाडौं- कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा (डोज) लिएकाहरूलाई आजदेखि दोस्रो डोज दिइँदैछ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा पहिलो डोज लिएका अग्रपंक्तिमा खटिएकाहरूलाई आजबाट दोस्रो मात्र दिन लागिएको हो ।

वैशाख ११ गतेसम्ममा ४ लाख ३८ हजार नागरिकलाई कोभिसिल्डको दोस्रो मात्रा लगाइने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

पुरानो खोप कार्ड तथा परिचय झल्कने अन्य कार्ड लिएर आफूलाई पायक पर्ने खोप केन्द्रमा गई दोस्रो मात्रा खोप लगाउन मन्त्रालयले आह्वान गरेको छ ।

पाँच दिनसम्म जारी रहने दोस्रो मात्राको खोप अभियानमा माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई वैशाख ७ गते खोप लगाउने तालिका छ ।

यस्तै माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले १० गते तथा माघ ३०, फागुन ७ र १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका मन्त्रालयले बनाएको छ ।

यसैबीच काठमाडौंको स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप दिन १९ केन्द्र तोकेको छ ।

कार्यालयका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा खोप लगाउन सकिनेछ ।

यस्तै नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप दिइने कार्यालयले जनाएको छ ।

खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

corona.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट