काठमाडौं- नेकपा एमाले खनाल-नेपाल समूहकी नेता तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने चेतावनी दिएकी छन् ।
पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधव नेपाल पक्षीय सांसदहरु मंगलबार बानेश्वरमा आकस्मिक रुपमा भेला भइ छलफल गरेपछि पत्रकारहरुसँग झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाईं लड्ने बताएकी हुन् ।
उनले भनिन्, ‘हामी संसदीय दलभित्र लड्छौँ, अदालतसम्म पुग्छौँ । किनभने प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो । केपी ओलीका अगाडि झुक्दैनौं ।’
उनले थपिन्, ‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर हामी स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’