विवादको चंगुलमा फसेको प्रस्तावित युरोपेली सुपर लिगबाट इंग्लिसका ६ वटा क्लबले सहभागिता नहुने गरी नाम फिर्ता लिएका छन्।
चेल्सीले नाम फिर्ता लिनका लागि आवश्यक कागजी प्रक्रिया सुरु गरेको जनाएको छ भने म्यानचेस्टर सिटीले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएको हो। त्यसबाहेक आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनह्यामले पनि क्रमश नाम फिर्ता लिएका छन्।
आइतबार युरोपका १२ टोलीबीच सुपर लिग प्रतियोगिता आयोजना हुने घोषणा भएलगत्तै विश्वभरबाट सहभागी क्लबका समर्थहरुले विरोध गरिरहेका छन् भने युरोपेली फुटबल महासंघ र फिफाले समेत कटाक्ष गर्दै आएको छ।
इंलिस क्लबहरुको बहिगर्मनपछि अब सुपर लिगमा केवल ६ वटा क्लब बाँकी छन्। ती स्पेन र इटालीका शीर्ष क्लब हुन्। जबकि, यो लिगमा कुल २० वटा क्लबलाई समावेश गर्ने योजना बनाइएको छ। त्यसमध्ये १५ वटा क्लब संस्थापक सदस्य हुने र बाँकी ५ वटा क्लबहरु छनोट खेलेर आउने फर्म्याट तय भएको थियो।