बागमती प्रदेशसभा : अविश्वास प्रस्तावकै डरले अधिवेशन अन्त्य!-Sutra News

बागमती प्रदेशसभा : अविश्वास प्रस्तावकै डरले अधिवेशन अन्त्य!

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडाैं – बागमती प्रदेशसभाको हिउँदे अधिवेशन हिजो रातरात अन्त्य भयो।



बिजनेस बाँकी हुँदाहुँदै अधिवेशन अन्त्य गरिएको भन्दै प्रुमुख प्रतिपक्षी मा‌ओवादीले यसलाई मुख्यमन्त्रीभित्र अविश्वास प्रस्ताव आउने डरकै कारण भएको टिप्पणी गरेको छ। 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकार संसदबाट भागेको आरोप लगाए। सत्ता टिकाउन मुख्यमन्त्रीले यस्तो गरेका उनको आरोप छ।

‘विगतमा अविश्वास प्रस्ताव आउँदा पनि प्रक्रिया नै नपुर्‍याई भागेर टार्ने काम गरियो,’ जम्मकट्टेलले भने, ‘अहिले पनि अविश्वास प्रस्ताव आउला भन्ने डरले संघको सिको गरिएको हो।

’सरकार विशेषगरी प्रदेशसभा र जनताप्रति जवाफदेही हुनुपर्नेमा त्यसो नगरी एकदलीय तानाशाही हुन खोजेको जम्मकट्टेलको आरोप छ।

मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव आउने डरले अचानक अधिवेशन अन्त्य गरिए पनि आफूहरुको भने त्यस्तो कुनै तयारी भने नभएको नेता जम्मकट्टेलको भनाइ छ।

उनी भन्छन्, ‘प्रदेशसभामा विपक्षीहरु अहिले एकजुट भएको भयले सरकार डरैडरमा छ।’

अर्को प्रतिपक्षी नेपाली कांग्रेसले पनि माओवादीको जस्तै आरोप लगाएको छ। सरकार विपक्षीदेखि भागेको टिप्पणी कांग्रेसको छ। 

सत्ताधारी दल एमालेबीचमा द्वन्द्व हुनु र विपक्षी दल एक ठाउँमा उभिई सरकारले नीतिविपरी काम गरेकाले त्यसमा प्रश्न उठाउँदा मुख्यमन्त्री तर्सिएका कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङको भनाइ छ। 

आफ्ना कार्यकर्तालाई मदन भण्डारी फाउन्डेसनका नाममा आर्थिक कार्यविधि नै नभई ५० लाख रुपैयाँ दिनु, पूर्वाधार नै विकास नगरी गैर प्रक्रियागत रुपमा विद्युतीय बस सञ्चालन तयारी गर्नु, सुरुङ मार्ग निर्माणमा टेन्डर आह्वान गर्नुजस्ता नियमविपरीत कामबारे विपक्षीले जवाफ खोजपछि अधिवेशन अन्त्य भएको तामाङकोभनाइ छ। 

सरकारमाथि प्रश्न उठेपछि सत्ता जोगाउनकै लागि सर्वदलीय बैठक बोलाइको र विपक्षीले बहिष्कार गरेपछि मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्ताव आउन नदिन यस्तको कार्य गरेका उनको तर्क छ।

विवेकशील साझा पार्टीले पनि अधिवेशन अन्त्यप्रति असहमति जनाएको छ। ‘विपक्षीहरु एकमत भएर सदनमा जुन विषयबारे सरकारसँग जवाफ मागिएको थियो, त्यसलाई सम्बोधन गर्नुपर्नेमा अधिवेशन अन्त्य गरिएकोमा हाम्रो विरोध छ।’ विवेकशीलका रमेश पौडेलले भने, ‘प्रदेशसभामा दलले उठाएका मुद्दालाई बेवास्ता गरी उहाँहरु एक्लै हिँड्न खोजेको देखियो।’

सर्वोच्चले नेकपालाई खारेज गरिदिएपछि बागमतीमा एमालेको एकलाैटी बहुमतको सरकार छ। सरकारप्रति असन्तुष्टि जनाएको माधव नेपाल खेमा बागमतीमा सरकार ढाल्ने पक्षमा अहिले खुलेको भने छैन। तर विपक्षी एक हुँदा अचानक अधिवेशन अन्त्य हुनुलाई उसले आश्चार्यचकित मानेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट