एनसेल टावर छेउमा बम, एमसिसी खारेज गर्न माग गरिएको पर्चा पनि भेटियो-Sutra News

एनसेल टावर छेउमा बम, एमसिसी खारेज गर्न माग गरिएको पर्चा पनि भेटियो

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

पाँचथर- मिक्लाजुङ गाउँपालिका-२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।



मंगलबार साँझ सप्तमी बजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो । स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पारेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (विद्रोही समूह)’ लेखिएको पर्चामा प्रधानमन्त्रीविरुद्ध नारा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।

खिया लागेको पुरानो सकेट बम फेला पर्नाले सशस्त्र द्वन्द्वमा संलग्नबाटै बम राखिएको हुन सक्ने स्थानीयवासीले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट