मुगु- हप्ता दिनदेखि कर्णालीका पाँच जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यही वैशाख २ गते दैलेख र कालीकोट सिमाना महावुलेकमा रहेको नेपाल टेलिकमको रेडियो लिंकमा चट्याङले हानेपछि इन्टरनेट अवरुद्ध भएको हो ।
कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा इन्टरनेट सेवा नहुँदा सेवा लिने र दिने कार्यमा समस्या भएको छ । रेडियो लिंकमार्फत नेपाल टेलिकमले दिँदै आएको फोरजी सेवा र एडिएसएल सेवा अवरुद्ध भएपछि मुख्य गरी बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा समस्या परेको हो ।
मुगुका पाँच वाणिज्य बैंक र दर्जन बढी अन्य सहकारीले आफ्नो वित्तीय सेवा एडिएसएलमार्फत दिँदै आएका थिए । यो सेवा अवरुद्ध भएपछि अहिले ती सस्थालाई नगद भुक्तानी, जम्मा, ऋण लगानी, किस्ता जम्मालगायत कार्यमा समस्या भएको वाणिज्य बैंक मुगुका प्रबन्धक हरिन्द्र बोहोरा बताउँछन् ।
राष्टि«य वाणिज्य बैंक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएलसहित मर्कनटाइलको कम्पनीको सेटेलाइट इन्टरनेट सेवा पनि राखेकोले बैंकमा आउने सेवाग्रहीले ढिलो भएपनि सेवा पाइरहेका छन् ।
तर एनटिसी कै भरमा चलेका अन्य बैंक तथा वित्तीय संस्थाले भने हप्ता दिनयताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन् । टेलिकम मुगुका प्रमुख विशालकुमार देवकोटाले महावुमा बिग्रेको उपकरण मर्मत गर्न प्राविधिक टोली बुधबारै विहान हिडिसकेको बताए ।
उनले मौसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेक चढन समस्या आएकाले सेवा अवरुद्ध लम्बिए पनि बिहीबारसम्म इन्टरनेट सेवा सञ्चालनमा आउने बताए ।