पिसिआर रिपोर्ट नक्कली भएको आशंकामा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए-Sutra News

पिसिआर रिपोर्ट नक्कली भएको आशंकामा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडौं- कोभिड-१९ संक्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशंकामा उनीहरूलाई यात्रा अनुमति नदिइएको हो ।



सिनामंगलस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मंगलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन् ।

एयर अरेबियाको उडानबाट सारजाँ जान लागेका ५४ जना, सलाम एयरमा चढेर ओमान हिँडेका ३२ र जजिरा एयरको उडानमा कुवेत गन्तव्य बनाएका ३६ जनालाई विमानबाट उतारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

आज यात्रा गर्न नपाएका ती यात्रीलाई सम्बन्धित विमान कम्पनीले यात्राको पुनः व्यवस्था गर्ने नगर्नेबारेमा उनीहरूबाट कुनै निर्णय नभएको उनकाे भनाइ छ । आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ५० जनालाई फर्काइएको विमानस्थल सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

विमानबाट उतारिएका र विमानस्थलबाट प्रस्थान गर्न नपाएकामध्ये ६८ भारतीय नागरिक छन् । सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले जारी गरेका स्वास्थ्य प्रतिवेदन यात्रीसँग भएकाले उनीहरूलाई अनुमति नदिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट