काठमाडौं- प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा वैशाख मसान्तसम्म भक्तजनले पूजाआजा गर्न नपाउने भएका छन् ।
कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले जिल्ला प्रशासन कार्यालय गोरखाले भिडभाड रोक्न यस्तो नियम लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलकाअनुसार भिडभाड हुने सबै प्रकारका ठाउँहरू वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा स्वास्थ्य पालना गर्ने गरी गरिने नित्य पूजा, ध्यान र प्रार्थनाबाहेक सम्पूर्ण पूजाआजा २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो ।
गत वर्ष लकडाउनका बेला पनि मनकामना मन्दिरमा भक्तजनले पूजाआजा गर्न पाएका थिएनन् ।