काठमाडाैं – स्थानीय र पश्चिमी वायुको प्रभावका कारण अहिले देशभरका विभिन्न स्थानमा वर्षा भइरहेका छन्।
गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौं उपत्यकालगायत आसपासमा पनि पानी परिरहेको छ।
बिहान ६ बजेको मापनअनुसार काठमाडौंमा १ दशमलव ८ मिलिमिटर पानी परेको छ। मौसमविदका अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ। पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको पनि सम्भावना छ।
अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।