नेकपा नेत्रविक्रम चन्द्र विप्लवका बझाङ जिल्ला कमिटी सदस्य जोगबहादुर कठायतले जेलमुक्त भएलगत्तै चेतावनी दिएका छन्।
चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दाका कठायत २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ परेका थिए। उनले आफू भने छुटे पनि आफ्ना साथीहरूलाई सरकारले नछाडे पुनः क्रान्ति गर्ने बताए।
बुधबार कठायतलाई उनका कार्यकर्ताले अबिरमाला, बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गरेका थिए। कठायत जेलमुक्त भएपछि सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा कोण सभासमेत गरिएको थियो।
उक्त कोणसभामा सरकारले वार्तामा भएका हरेक सहमतिका बुँदा तथा शब्दलाई मनन गरेर आफ्ना सहकर्मीलाई जेलमुक्त गर्नुपर्ने बताएका हुन्। अन्यथा आफू मात्रै नभएर देशमा सबैलाई लामबद्ध गराउने उनले खुला रूपमा चेतावनी दिए।
सरकार र विप्लव नेकपाबीच सहमति भएसँगै बझाङमा विप्लव समूहका २ जना जेलबाट छुटेका छन्। चैतमा विप्लवका जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी छुटेका थिए। बझाङ कारागारमा विप्लवका ५ जना नेता कार्यकर्ता रहे पनि हालसम्म २ जना मात्र छुटेका छन्।