कठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध अभियानमा लामबद्ध हुन अपिल गरेका छन्।
आज आफ्नो फेसबुक पेजमार्फत प्रचण्डले बोल्सेविक क्रान्तिको नेता तथा रूसमा साम्यवादी शासनको संस्थापक भ्लादिमिर लेनिनको १ सय ५१ जन्मदिनको अवसरमा शुभकामनासँगै यस्तो आग्रह गरेका हुन्।
तत्कालीन सोभियत संघलाई एकताबद्ध गर्न लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्ने उनले लेखेका छन्।
सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकताबद्ध पहलकदमी गर्न र प्रतिक्रियावादीको प्रतिगामी कदमलाई परास्त गर्न उनले आग्रह पनि गरेका छन्।
देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमनविरोधी शक्तिहरुको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको उनको लेखाइ छ।