काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेनिनको लेख पढ्न अनुरोध गरेका छन्।
‘त्यो लेख हाम्रै लागि लेख्या हो कि जस्तो मलाई लाग्छ। लाखौं करोडौं जनताको बलिदानीबाट नेपालमा कम्युनिष्ट आन्दोलन सफल भएको हो। म साथीहरूलाई यो लेख पढ्न अनुरोध गर्छु।’
तर नेपालका सामन्तवादहरूलाई यो सह्य नभएको पनि उनले टिप्पणी गरे। विश्वभरका कम्युनिष्टमाझ माओवाद र मार्क्सवादबारे ठूलो बहस चलाउन जरुरी रहेको पनि उनले बताए।
निर्वाचन र संविधान र कम्युनिष्ट आन्दोलनमा वैदेशिक प्रतिक्रयावादीविरुद्ध लडेको उनले खुलाए। ‘राष्ट्रिय स्वाधीनताको सुदृढीकरणको निम्ति वैदेशिक प्रतिक्रियावादविरुद्ध संघर्ष गर्यौं।’
२१ औं शताब्दीको समाजवादको लागि नेपाल उर्वर भूमि भएर देखा परेको उनको भनाइ थियो।
नेपाली जनता र कम्युनिष्ट आन्दोलनमा सबैको योगदान भए पनि यो विस्तारै स्खलित हुँदै गएको प्रचण्डले टिप्पणी गरे। ‘नेपालमा परिवर्तन र सामन्तवादलाई परास्त गर्न कम्युनिष्टहरूको निकै ठूलो भूमिका रह्यो पछिल्लो चरणमा माओवादी जनयुद्ध र जनआन्दोलनको कारण नयाँ परिस्थिति आएको हो,’ प्रचण्डले बताए।
कम्युनिष्टकै नेतृत्वमा परिवर्तन आएको भन्दै माओवादीलाई पहिलो पटक नै जनताले ठूलो पार्टी बनाइदिएका पनि उनले स्मरण गरे।