काठमाडौं- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै सहज जित निकालेको हो ।
नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ ।
नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ भने मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । नेदरल्यान्ड्सले ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी गर्दै ५ अंकमा तालिकाको दोस्रो स्थानमा रह्यो ।
४ खेलमा १ खेलमा वर्षका कारण बराबरी गरेको मलेसियाले बाँकी खेलमा हार भोग्दै लिग चरणबाटै यात्रा सकाएको छ ।
फाइनल खेल शनिबार हुनेछ ।
नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसिया १९ दशमलव १ ओभरमा १ सय ४८ रन जोड्दा अल आउट भयो ।
मलेसियालाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने, सोमपाल कामी र कमल सिंह ऐरिले समान ३ विकेट झारे । सुसन भारीले एक विकेट लिए ।
मलेसियाका अनिमुद्धिन र्याम्लीले ४१ रन जोडे । १८ बलको सामना गरेका उनले ५ छक्का र १ चौका हाने । कप्तान अहमद फैजले ३१ रन थपे । फिर्ती सामले १४, विरनदिप सिंहले १३ रन जोडे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रनको योगफल तयार पारेको हो ।
सातौं नम्बरमा ब्याटिङ गर्न आएका करणले १३ बलमा ७ छक्का मद्दतमा ४५ रनको महत्वपुर्ण योगदान दिए । टि-ट्वान्टी क्रिकेटमा नेपालले दोस्रो ठूलो योगफल तयार पारेको हो ।
त्यसअघि नेपालले नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले २ सय ३६ रनको योगफल बनाएको थियो ।
ओपनर आसिफ शेखले ४२ रनको योगदान दिए । ३२ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का हाने । कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन थपे ।
२५ बलमा कप्तान मल्लले १ चौका र ४ छक्का हाने । उपकप्तान दिपेन्द्र सिंह ऐरिले ३३ रन जोडे । कुशल भुर्तेलले १६ रन, विनादे भण्डारीले ८ रन जोडे । कुशल मल्ल १९ रनमा नटआउट रहे । सोमपाल कामी २ रन जोड्दा एलबीडब्लु धरापमा परे ।
मलेसियाका सयद अजिज र फिर्ती सामले समान २ विकेट लिँदा मुहम्मद वाफिकले एक विकेट लिए ।