काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्कै राजनीतिक दल खोलेको भनेर सोधेको स्पष्टीकरणको जवाफमा नेता माधव नेपालले त्यो सत्य नभएको बताएका छन् । अध्यक्ष ओलीले वैशाख ६ गते सोधेको प्रष्टिकरणको जवाफ नेता नेपालले बिहीबार दिएका हुन् ।
जवाफमा नेता नेपालले भनेका छन्, ‘ललितपुरमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा एमालेको एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो । उक्त भेलाले अलग राजनीतिक दल खोलेको वा गठन गरेको भन्ने कुरा पूर्णरूपमा असत्य हो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा एमालेको उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन ।’
एमालेलाई सैद्धान्तिक र संगठनात्मकरुपमा कसरी सबल बनाउन सकिन्छ र यसलाई विखण्डन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाउन चाहनेहरूका दुष्प्रयासहरूलाई कसरी विफल पार्न सकिन्छ भन्नेमा आफू चिन्तित रहेको नेता नेपालले लेखेका छन् ।
नेता नेपालले सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसला अनुसार एमालेका सबै संरचना पूर्ववत् क्रियाशील हुनुपर्ने माग दोहोर्याएका छन् ।
आफू चिन्तित रहेको र सर्वोच्चको आदेशअनुसार पार्टी चल्नुपर्छ भन्नेमा आफू अडिग रहेकाले पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै विभिन्न कार्यक्रममा क्रियाशील भएको उनको जवाफ छ ।
आफू सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको एमालेको पक्षमा रहँदा पनि ‘अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलापु भन्नुलाई’ नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्धतिका सम्बन्धमा तपाई स्वयंमा उत्पन्न दृष्टि भ्रम र विचलनको घोतक हो’ भनेर नेपालले जवाफ दिएका छन् ।
अध्यक्ष ओलीले आज (९ वैशाख) मा पनि नेपाल समूहले अर्कै पार्टी बनाएको आरोप लगाएका छन् ।