माधव नेपालपछि वामदेव फकाउँदै ओली, भेटमा के भयो कुराकानी?-Sutra News

माधव नेपालपछि वामदेव फकाउँदै ओली, भेटमा के भयो कुराकानी?

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन्।



केन्द्रीय कमिटीको बैठकअघि प्रधानमन्त्रीलाई भेट्न गाैतम बिहीबार साँझ बालुवाटार पुगेका हुन्। उनीलेबीच बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन्।

भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए। भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्लाएक्लै लामो छलफल गरेका थिए। 

पार्टी विवादका विषयमा भने उनले कुनै प्रतिक्रिया नदिएको भट्टराईको भनाइ छ। भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केपी ओली देशको प्रधानमन्त्री हो। नेकपा (एमाले) को अध्यक्ष हो तर, उहाँसँग मेरो सम्बन्ध पदका कारणले बनेको होइन। जमाना देखिको हो अटुट रहिरहनेछ।’

यसअघि ओलीले माधव नेपालसँग दुई पटक भेटवार्ता गरिसकेका छन्। तर उक्त भेटले राष्ट्रिय राजनीतिमा खासै प्रभाव भने पार्न सकेको देखिँदैन। यद्यपि नेता नेपालसँगको भेटलाई लिएर चाँडै नै एमालेभित्र नयाँ निर्णय हुन सक्ने अड्कलबाजी भने गर्न थालिएको छ। नेपाललगत्तै गाैतमसँगको भेटलाई पनि अर्थपूर्ण मान्न सकिन्छ। 

तत्कालीन नेकपा ओली र दाहाल–नेपाल समूहमा विभाजित हुँदा नेकपा राष्ट्रिय एकता अभियान भन्दै गौतमले कुनै समूहतिर खुलेर नलाग्ने बताएका थिए। २३ फागुनमा सर्वोच्च अदालतबाट नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेपछि गौतमले एमाले राष्ट्रिय एकता अभियान अगाडि बढाएका थिए।

फागुन २८ गते ओलीले एकपक्षीय रुपमा पार्टीको संरचना नै हेरफेर गरेपछि उनी ओलीप्रति झनै रुष्ट भएका थिए। त्यतिबेला उनले ओलीको कदम उग्र भएको भन्दै चर्को विरोध मात्र गरेका थिएनन्, अब ओलीसँग मिल्ने सम्भावना सकिएकै बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट