काठमाडाैं – गेटाफेविरुद्ध बार्सिलोनाले आज राति भएको खेलमा ५–२ को शानदार जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालामा जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गरे।
मेस्सीले खेलको पहिलो हाफको ८ मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए। त्यसअघि उनले प्रहार गरेको शक्तिशाली प्रहार गोल पोस्टको माथिको बारमा लागे पनि गोल भने हुन पाएन।
तर १२ औं मिनेटमा गेटाफेको प्रहार बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङ्लेन्टलाई लाग्दा आत्मघाती गोल हुन पुगेको थियो। तर २८ औं मिनेटमा गेटाफेका खेलाडीले बल नियन्त्रण गर्न नसक्दा आत्मघाती गोल खान पुगेको थियो।
२–१ को अग्रता बनाएको बार्सिलोनाका लागि मेस्सीले नै ३३ मिनेटमा अर्को गोल थपे। पहिलो हाफमै ३–१ को अग्रता बनाएको बार्सिलोनाले खेलको ६९ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल खाँदा खेल ३–२ को अवस्थामा थियो।
तर ८७ मिनेटमा डिफेन्डर रोनाल्ड अराउखोले गोल गर्दै बार्सिलोनालाई ४–२ को अवस्थामा ल्याए। निर्धारित ९० मिनेट सकिएर थप गरिएको समयमा ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए।
मेस्सीले जारी लिगमा २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई राखिराखेका छन्। जितपछि बार्सिलोना ६८ अंकसहित लिगको तेस्रो स्थानमा छ।
यसैबीच हिजो राति भएको खेलमा ह्वेस्कामाथि २–० को नतिजा निकाल्दै एट्लेटिको मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसले ३२ खेलबाट ७३ अंक जोडेको छ। त्यसैगरी दोस्रो स्थानमा रियल मड्रिड छ। ३२ खेलबाट रियलले ७० अंक जोडेको छ। यद्यपि बार्सिलोनाले यी दुई टोलीभन्दा एक खेल कम खेलेको छ।