एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, ३२ सांसदलाई होला कारबाही?-Sutra News

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, ३२ सांसदलाई होला कारबाही?

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने छ।



आजको बैठकमा माधव नेपाल समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफलका साथै निर्णय हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले बिहीबार स्पष्टीकरणको जवाफ पठाइसकेका छन्।

तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरण बुझाउने म्याद आज अन्तिम दिन हो। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ र संघीय संसदका २७ सांसदलाई ‘तपाईंहरूलाई किन कारबाही नगर्ने’ भनी वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए।

यसअघि वैशाख ६ गतेको महाधिवेशन आयोजक कमिटीको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना एमालेले तयार पारिसकेको छ।

जसअनुसार जेठ मसान्तभित्र सबै प्रदेशदेखि स्थानीय तहसम्मका कमिटीलाई पूर्णता दिने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा तथा पालिका अधिवेशन र जिल्ला अधिवेशन गरिसक्ने एमालेको योजना छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट