ओलीको प्रस्ताव वामदेव गाैतमद्वारा अस्वीकार, फागुन २८ को ‘अवैधानिक’ निर्णय फिर्ता लिन आग्रह-Sutra News

ओलीको प्रस्ताव वामदेव गाैतमद्वारा अस्वीकार, फागुन २८ को ‘अवैधानिक’ निर्णय फिर्ता लिन आग्रह

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिएका छन्। 



अध्यक्षसमेत रहेका ओली र उपाध्यक्ष गाैतम बिहीबार बेलुका रात्रिभोजमा सरिक भएका थिए। उक्त भेट सकारात्मक भएको र गाैतमले पनि ‌ओलीसँग आफ्नो निकै पुरानो सम्बन्ध रहेको भनेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले फेसबुकमार्फत जानकारी दिए। उनले गाैतम र ओलीको भेटलाई सकारात्मक मान्दै गाैतम ओली खेमामा आएका जनाउ दिएका थिए। 

तर ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको भनिएको प्रस्ताव तथा भट्टराईको आशयलाई गौतमका प्रेस सल्लाहकार सुवेदीले फेसबुकमार्फत खण्डन गरिदिएका छन्। 

उनले लेखेका छन्, ‘हिजो ९ गते क केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट