काठमाडाैं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी एकता जोगाउन अपिल गरेका छन्।
जसपा स्थापनाको एक वर्ष पूरा भएको अवसरमा भट्टराईले ट्विटर तथा फेसबुकमा वैकल्पिक शक्तिको रुपमा पार्टी स्थापना भएको र देशको नेतृत्वदायी स्थानमा पार्टीलाई पुर्याउनुपर्ने भन्दै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्नुपर्ने लेखेका छन्।
भट्टराईले लेखेका छन्, ‘जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता अभियन्ता, समर्थक र जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना। हिमाल पहाड तराई मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं’
तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकीकरण भई जसपा बनेको थियो। तर पछिल्लो समय सरकारमा जाने विषयले पार्टीभित्र तिक्कता छाएको छ। साविकको राजपा सरकारमा जाने पक्षमा छ भने समाजवादी यो सरकारलाई सघाउन नहुने अडानमा छ।