काठमाडौं- नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाल समूहलाई मूल पार्टीमा फर्किन आग्रह गरेको छ । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले समानान्तर कमिटी छाडेर मूल पार्टीमा फर्कन आग्रह गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार पार्टीको नाममा विभिन्न भेला र सामानान्तर कमिटि गठन गर्दै जाने साथीहरूलाई मूल प्रवाहमा फर्किएमा उनीहरूलाई उचित जिम्मेवारी दिइनेछ ।
प्रवक्ता ज्ञवालीले पार्टीमा नफर्किए कर्णाली प्रदेशका सांसदहरुलाई जस्तो थप कारबाही हुने चेतावनीसमेत दिए । बैठकले स्थायी कमिटी गठनसँगै नेताहरूको जिम्मेवारी पनि तोक्ने निर्णय गरेको छ ।
आजको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।