एमालेमा ओली ‘अतिचार’, दुई पूर्वप्रधानमन्त्रीसहित अर्को पक्षलाई स्थायी कमिटीमा पाइला राख्ने ठाउँ नै दिइएन-Sutra News

एमालेमा ओली ‘अतिचार’, दुई पूर्वप्रधानमन्त्रीसहित अर्को पक्षलाई स्थायी कमिटीमा पाइला राख्ने ठाउँ नै दिइएन

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र राजनीतिक अतिचार मच्चाएका छन् । महाधिवेशन आयोजक कमिटीको बैठक गरी उनले स्पष्टीकरण सोधेका पार्टीबाट सरकार समेत हाँकिसकेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई स्थायी कमिटीबाट हटाएका छन् ।



यति मात्र नभएर ओली विरोधी खेमामा उभिएका नेपाल पक्षका स्थायी कमिटीका अन्य सदस्य समेत हटाएर माओवादीबाट एमाले प्रवेश गरेकालाई स्थान दिएका छन् ।

पुनर्गठन गरिएको स्थायी कमिटीमा एमाले एकता अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतमलाई वरियताको दोस्रो नम्बरमा राखिएको छ ।

नेता नेपाललगायतका सबै नेतालाई हटाएर ओली, गौतमसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल स्थायी कमिटीमा राखिएको छ ।

एमाले ब्युँतिएपछि ओलीले एक्लौटी ढंगले निर्णय गरेपछि नेपाल समूह समानान्तर गतिविधिमा लागेको थियो । यसअघिका विभिन्न बैठक गरेर गरिएका निर्णयमा नेपाल र खनाललाई समेटिएको थियो । संसदीय बोर्डमा नेपाल र खनाललाई राखिए पनि पार्टीको सबैभन्दा बलियो रहेको स्थायी कमिटीबाट हटाउने एकतर्फी निर्णय ओलीको अत्याचार भएको र आत्मघाती निर्णय समेत रहेको बताइएको छ ।

गौतमलाई दोस्रो वरियता दिएका ओलीले महासचिव पोखरेलपछि गृहमन्त्री बादललाई तोकेका छन् । बादल चौथो नम्बरको नेताका रूपमा एमालेभित्र स्थापित गराउन खोजिएको छ ।

‘एमालेको एउटा ठूलो हिस्साले सहमति गर्न चाहेको थियो, उनीहरूको शर्त भनेको नै २८ फागुनदेखिका निर्णय फिर्ता लिने थियो । तर ओली ती सबै निर्णय सदर गर्दै यसरी अगाडि बढेका छ कि अतिचार भयो’,
एक नेता भन्छन्, ‘पूर्वप्रधानमन्त्रीहरू, पार्टी हाँकिसकेका नेताहरूलाई नै स्थायी कमिटीबाट लखेटियो ।’

नेपाल समूहले समानान्तर रूपमा पार्टीका गतिविधि गरेर नयाँ पार्टी नै गठन गर्न लागेपछि ओली निर्मम हिसाबले अगाडि बढेका हुन् । यसबीचमा उनीसँग नेता माधवकु नेपालले दुई दिन वार्ता गरेका थिए । तर, कुनै पनि सहमति हुन सकेन ।

नेता नेपालले भनेका छन्, ‘ओलीमा अहंकार र दम्भ धरहराभन्दा पनि माथि पुगिसकेको छ, अर्को पार्टी गठन गरेको आरोप लगाए । तर, हामी यो पार्टीमा छौं, कुनै गठन हुनेवाला छैन ।’

सांसद पदबाट हटाउने कि नहटाउने भन्ने विषयको निर्णय गर्ने प्राधिकार पनि ओलीले नवगठित स्थायी समितिमा राखेका छन् । जहाँ उनको एकल निर्णयमा लालमोहर लाग्नेछ । नेता गौतमबाहेक अहिले स्थायी कमिटीका सबै सदस्य ओलीको प्रस्तावमा आँखा चिम्लिएर नै सहमत हुनेछन् ।

‘एउटा गुटलाई आधिकारीक पार्टी भनियो, विधि र पद्धति छैन । विधान त अगाडि नै मिचिसकेका थिए अब मनपरी गर्न सक्ने कमिटी बनाएका छन्’, नेपाल पक्षका एक नेता भन्छन्,‘उनलाई रिस उठेको र झोंक चलेको आधारमा अब वरिष्ठ नेताहरूलाई सांसदबाट पनि हटाउने निर्णय लिन सक्छन् ।’

पार्टीमा दुई धारको संघर्ष हुनुलाई स्वभाविक मानिए पनि ओलीले त्यो वैज्ञानिक पक्षकलाई कुल्चिएको ठहर नेपाल पक्षले गरेको छ । ‘विचारमा विविधता हुन्छ, मतहरू भिन्न हुन्छन् । ती सबैको मन्थनबाट वैचारिक रुपमा पार्टी हुने हो । तर ओलीले यी सबै मानक भत्काएर अगाडि बढ्न चाहे’, एक नेताले भने, ‘एमालेका लागि देखिएको यो भयानक दुर्घटनाको ट्रेलर हो, यीनले पार्टी र कम्युनिस्ट आन्दोलन नै सिध्याउने ममताहिन बाटोको यात्रा थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट