सह-अध्यक्ष दिन्छु भनेका ओलीले बादललाई चार तला तल घचेटिदिएपछि…-Sutra News

सह-अध्यक्ष दिन्छु भनेका ओलीले बादललाई चार तला तल घचेटिदिएपछि…

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं- शुक्रबार बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटी पुनर्गठन गरेको छ । स्थायी कमिटीमा गृहमन्त्रीसमेत रहेका माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा (बादल) लाई चौथो वरियतामा राखिएको छ ।



गत पुस ५ गते प्रतिनिधिसभा विघटनलगत्तै बादल केपी शर्मा ओली समूहमा लागेका थिए । ओली समूहमा पूर्वमाओवादी ध्रुवको नेतृत्व गरेका भए पनि बादललाई त्यतिबेलै आफ्ना विश्वास पात्रहरूले प्रतिगमनको साथ दिन नसकिने भन्दै छोडे ।

प्रतिनिधिसभा विघटन हुनुभन्दा एकदिन अघि नै प्रधानमन्त्री केपी शर्मा ओली बादलको मन्त्रीक्वार्टर पुगेर आफूलाई साथ दिन आग्रह गरे । बादल त्यतिबेलासम्म अनिर्णित नै थिए । पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । बादल तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल खेमामा लाग्ने आंकलन गरिएको थियो ।

केही दिनको मौनतापछि बादलले ओली रोजे । बालुवाटारमा बोलाइएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा पुगेर उनले प्रतिनिधिसभा विघटनलाई क्रान्तिकारी कदमका रूपमा चित्रित गरेका थिए ।

नेताहरूको ध्रुवीकरण तीव्र भइरहेका बेला ओलीले बादललाई भनेका थिए, ‘पूर्व समूहको एकता पनि पूरा भएको छैन । तपाईं यतै आउनुभयो भने पार्टीमा तपाईंले सह–अध्यक्ष पाउनुहुनेछ र माओवादी नेता कार्यकर्ताको व्यवस्थापन पार्टी एकताकै स्पिरिटअनुसार गरिनेछ ।’

ओलीको त्यस्तो अफर पाएपछि बादल लोभिएको स्रोत बताउँछ । त्यसपछि बादल ओलीको पक्षमा डटेर लागे । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर संसद पुनर्थापना गरिदियो तर बादलले ओलीको साथ छाडेनन् ।

त्यस्तै फागुन २३ गते अदालतको अर्को फैसला आयो । फैसलामार्फत अदालतले माओवादी र एमालेको एकता भंग गरिदियो । दुवै पार्टीहरू एकतापूर्वको अवस्थामा पुगेपछि बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा आउने आंकलन गरियो । त्यो पनि गलत सावित भयो ।

त्यतिबेला पार्टीमा दोस्रो वरियता दिन्छु भनेर बादललाई आफूतिर पारेका ओलीले त्यसपछि क्रमशः वाचा भुल्दै गए । पार्टीका कार्यक्रमहरूमा उनलाई महासचिव ईश्वर पोखरेलपछिको वरियतामा राख्न थालियो ।

शुक्रबार भएको स्थायी कमिटीको पुनर्गठनपछि बादललाई ओलीले चौथो वरियतामा राखेर धोका दिएका छन् । पहिलो वरियतामा केपी शर्मा ओली आफैं छन् भने दोस्रो वरियतामा वामदेव गौतमको नाम रहेको छ ।

त्यस्तै तेस्रो वरियतामा ईश्वर पोखरेललाई राखिएको छ भने बादलको भागमा चौथो वरियता परेको छ । माओवादीबाट एमालेमा पुगेका लेखराज भट्टलाई नवौं वरियता दिइएको छ भने टोपबहादुर रायमाझी दशौँ वरियतामा पर्न सफल भए ।

शहरी विकास मन्त्रीसमेत रहेका पूर्वमाओवादी नेता प्रभु शाहको नाम भने स्थायी कमिटीमा छैन । खानेपानी मन्त्रीसमेत रहेका मणि थापा १९ औं वरियतामा समेटिएका छन् ।

बादल असन्तुष्ट

स्रोतका अनुसार एमालेमा चौथो वरियता तय गरिएपछि बादल असन्तुष्ट देखिन्छन् । आफूलाई चौथो वरियतामा राख्ने ओलीको योजना बादललाई केही दिनअघि नै थाहा थियो । त्यसपछि बादलले ओलीसँग सीधा कुरा गर्न चाहेका थिए, तर ओलीले वामदेव गौतम र ईश्वर पोखरेलले नमानेको प्रतिक्रिया दिए ।

‘एमाले नै भएपनि पार्टी पुरानो ढंगको होइन, अध्यक्ष ओलीले एकताको स्पिरिट कायम गर्न सक्नुपर्थ्यो,’ बादलको सचिवालयले सूत्र न्यूजसँग भन्यो, ‘त्यतिबेलै पार्टीका सबै जनवर्गीय संगठनमा ३० प्रतिशत ठाउँ दिने सहमति भएको थियो । अहिले त्यसको पनि कार्यान्वयन भएको छैन ।’

ओलीको यो निर्णयले बादल मात्र होइन, उनीनिकट नेताहरूलाई पनि रुष्ट बनाएको छ । बादलनिकट केही युवाहरूले ओलीको साथ यसअघि नै छाडिसकेका छन् ।

तत्कालीन एमालेको ओली समूहमा लागेका बादल अदालतले एमाले ब्युँताउने निर्णय गरेपछि पनि एमालेमै रहे । बादल ओलीतिर लाग्दा आफ्ना राजनीतिक सल्लाहकार सूर्य थापाले समेत साथ दिएका थिएनन् ।

स्थायी कमिटीबाट माधव नेपाल समूह आउट !

स्थायी कमिटी पुनर्गठन गर्दा ओलीले माधव नेपाल र झलनाथ खनाललाई बेवास्ता गरेका छन् । १९ सदस्यीय स्थायी कमिटीबाट पार्टीको दोस्रो र तेस्रो वरियतामा रहेका खनाल र नेपाललाई आउट गरिएको छ ।

खनाल र नेपाल समूहका अन्य नेताहरूलाई पनि स्थायी कमिटीबाट लखेट्ने निर्णय ओलीले गरेका छन् । बुधबार र बिहीबार लगातार दुई दिनसम्म नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेता नेपालबीच वार्ता भएको थियो ।

वार्तामा ओलीले आत्मालोचना गरेर एमालेमा फर्किन आग्रह गरेका थिए । तर नेपाल तयार भएनन् । नेपालले एकता पूर्वको अवस्थाबाट एमाले सुरु गर्नुपर्ने अडान लिएका थिए । ओलीले ‘वागमतीमा धेरै पानी बगेको’ भन्दै नेपालको अडान खारेज गरिदिएका थिए ।

बिहीबार साँझ ओलीले आफ्नै निवासमा वामदेव गौतमसँग डिनरसमेत गरे । गौतम पनि ओलीसँग असन्तुष्ट भएको समाचार बाहिरियो । तर गौतमलाई ओलीले दोस्रो वरियतामा समेटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट