खानामा विष खुवाएर श्रीमानको हत्या गरेको अभियोगमा महिला पक्राउ-Sutra News

खानामा विष खुवाएर श्रीमानको हत्या गरेको अभियोगमा महिला पक्राउ

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

भक्तपुर- परपुरुषसँगको सम्बन्धका कारण श्रीमान्लाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।



विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस-२ घर भई हाल सूर्य विनायक नगरपालिका-४ डेरागरी बस्ने २९ वर्षीया पार्वती थापामगरलाई साँढे पाँच वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीकाअनुसार अनुसन्धानका क्रममा पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारी पछि २०७२ माघ २७ गते घर फर्किएका थिए ।

माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको खाना खुवाई विद्यालय पठाइन् भने त्यसपछि पार्वतीले विष्णुलाई गहतको दाल, अण्डाकरीमा विष मिसाई खाना खुवाइन् ।

खाना खाएको केही समयपछि विष्णु गाह्रो भयो भन्दै उपचारका लागि मध्यपुर अस्पताल गएको र सोही दिन उनको ज्यान गएको थियो ।

अनुसन्धानका क्रममा घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खानाको नमूना परीक्षणका क्रममा २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको किटनाषक विषादी फेला परेपछि मृतकका भाइ लोकबहादुरले भाउजूबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

विष्णुको मृत्युपछि प्रयोगशालाको रिपोर्ट आउनु अगाडि वैदेशिक रोजगारीमा गएकी पार्वती नेपाल फर्किएलगत्तै भक्तपुर जिल्ला अदालतको आदेशमा कोठाबाटै उनलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा पार्वतीको श्रीमान् विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई हत्या गरेको खुल्न आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट