मनवानपुर- वाग्मती प्रदेशमा कारबाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको संख्यामा वृद्धि भएको छ ।
विगतका समयमा प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेपछि कारबाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने संख्यामा वृद्धि भएको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पुरस्कृत हुनेमा ६५१ तथा कारबाही हुनेमा २०३ प्रहरी अधिकृत तथा जवान रहेका छन् ।
कार्यालयले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसहिंता कार्यादेश-२०७७ लाई कार्यान्वयनमा ल्याई कारवाही तथा पुरस्कृत गर्दै आएको छ ।
यसैगरी आर्थिक प्रलोभन देखाई प्रहरीलाई घुस दिन खोज्ने एक हजार ८७० सवारीलाई कारबाहीको दायरामा ल्याएर रु १९ लाख ४५ हजार राजस्व संकलन गरेको छ भने रु तीन लाख ४५ हजार घुस रकम फिर्ता गरेको छ ।
त्यस्तै प्रदेश प्रहरी कार्यालय मातहतका ४८ प्रहरी एकाइको भवन निमार्ण गरिएको छ भने २१ एकाइका भवन निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, अघिल्लो वर्षको तुलनामा गत वर्ष बन्द, हडताल, चक्का जामजस्ता घटनामा कमि आएको छ ।
गत वर्ष विभिन्न जिल्लामा नेपाल बन्दका दुई, आमहडतालका एक, चक्काजामका २४, धर्नाका ११, तालाबन्दीका २७, विरोध र्यालीका ३१०, मशाल जुलुसका २८, आमसभा तथा कोणसभा ४७ वटा घटना भएको कार्यालयले जनाएको छ ।