बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु-Sutra News

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

बाँके- बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।



नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १:२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनकाअनुसार बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ ।

जानकी गाउँपालिका-१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका-६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका-३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका-९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका-२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।

दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका-१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उनमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट