धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो: प्रधानमन्त्री-Sutra News

धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो: प्रधानमन्त्री

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुसी अनुभव भएको बताएका छन् ।



६ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।

‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौं र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुसी लागेको छ’, उनले भने ।

pm oli kepi..jpg

म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत रु २४ करोड जम्मा भएको पनि उनले कार्यक्रममा बताए ।

धरहरा ढल्दा हामीलाई आफैं ढले जस्तो र ठडिँदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बताए ।

आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खालको धरहरा निर्माण भएको जानकारी कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक/एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।

धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट