यी पाँच कारणले ओली ‘खालि खुट्टा’ बालकोट गएर आराम गर्नुपरेन-Sutra News

यी पाँच कारणले ओली ‘खालि खुट्टा’ बालकोट गएर आराम गर्नुपरेन

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला ‘टक अफ द टाउन’ बनेका छन् । अहिले राजनीति दुई ध्रुवमा बाँडिएको छ, पहिलो ओलीको पक्ष र दोस्रो ओलीको विपक्ष ।



गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै ओलीको राजनीति धरापमा परेको थियो । त्यतिबेला चारैतिरबाट ओलीले आलोचना खेपेका थिए । ओली समूहको नेकपाबाहेक अन्य सबै राजनीतिक दलहरू सडकमा थिए ।

नागरिक समाज, वुद्धिजीवी, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू सबैले संसद विघटन गर्ने ओलीको कदमको आलोचना गरे ।

सर्वोच्च अदालतले पनि संसद विघटन गर्ने ओलीको निर्णयलाई बदर गरिदिएपछि धेरैलाई लागेको थियो, ‘ओली अब खालिखुट्टा बालकोट गएर आराम गर्नेछन् ।’ तर समयक्रमले ओलीलाई नेपालको राजनीतिमा झन् शक्तिशाली बनाउँदै लगेको छ ।

देशको परिस्थिति ओलीले चाहेअनुसार नै अघि बढिरहेको उदाहरण प्रशस्त भेट्न सकिन्छ ।प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयको राजनीतिक वैधता पुष्टि हुने दिशातर्फ देश गइरहेको छ ।

संसदले काम गर्न नसकेको भन्दै विघटन गरिएको थियो । पुनर्थापनापछि पनि संसदले कुनै काम गर्न सकिरहेको छैन ।

सूत्र न्यूजले ओली शक्तिशाली हुँदै जानुका केही कारणहरू अध्ययन गरेको थियो । ओलीनिकट र ओलीइतरका नेताहरूसँगको कुराकानी गरेपछि सूत्रन्यूजले केही तथ्यहरूपत्ता लगायो ।

ओली शक्तिशाली हुँदै जानुका पछाडि तल उल्लेखित ५ घटनाक्रमहरू जिम्मेवार रहेका छन् ।

१.एमाले र माओवादी ब्युँताइदिने अदालतको आदेश

फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्थापना गरेर ओलीलाई झट्का दिएको थियो । तर त्यसको १२ दिनमै अदालतलेनेकपा नाम विवादमा फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरिदियो ।

तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर ओलीविरुद्ध गठबन्धनमा सहभागी भएका माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरूको राजनीतिक भविष्य नै धरापमापरेको छ ।

ओलीसबैभन्दाठूलो दल एमालेको शक्तिशाली अध्यक्ष बनेका छन् भने संसदीय दलको नेता पनि उनै हुन् । १२० सांसदमध्ये ओलीका पक्षमा अहिले ९० भन्दा बढी सांसदहरू छन् ।

नेपाल-खनाल समूहमा लागेकामध्येअन्य केही सांसदहरू पनि ओली समूहमा जान खुट्टो उचालिरहेको बालुवाटारको दाबी छ ।

२.प्रचण्ड र माधवको कमजोर निर्णय क्षमता

प्रचण्डलाई नेपालको राजनीतिको ठूलो खेलाडी मान्ने गरिन्थ्यो । अझैसम्म पनि केहीले प्रचण्डलाई राजनीतिको ‘गेम चेन्जर’ का रूपमा प्रस्तुत गर्ने गर्छन् । तर संसद विघटन लगत्तै प्रचण्ड र माधवले बोल्ड निर्णय लिन सकेन ।

प्रचण्ड–नेपाल समूहले बहुमत आफ्नो पक्षमा रहेको भ्रम पालिरह्यो । निर्वाचन आयोगमा निकै पछि मात्र यो समूहले आधिकारिकता दाबी गरेको थियो । त्यसैको लाभ ओलीलाई मिल्यो । बरू प्रचण्ड-नेपाल पछिल्लो राजनीतिक खेलमा फिक्का सावित भएका छन् ।

डेढ वर्षदेखि भैंसेपाटी गठबन्धन बनाएर ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट लखेट्न खोजेका यी नेताहरूलाई ओलीले हावाकावा खुवाए । बरू प्रतिनिधिसभा पुनर्थापना भएपछि थप रणनीति बनाउन लाग्नुपर्नेमा चितवनमा एकले अर्कालाई लड्डु खुवाएर खुसी मनाए ।

प्रचण्ड–नेपाललेओलीको रणनीति बुझ्न त सकेनन्, कांग्रेसको रणनीति पनि भेउ पाउन सकेनन् । प्रचण्ड-नेपालको कमजोर निर्णय क्षमताकै कारण राजनीतिमा ओली शक्तिशाली बनेर उभिएको उनीहरूका निकट रहेका नेताहरूले नै स्वीकार गर्ने गर्छन् ।

३.जसपाको सत्तालिप्सा

ओलीशक्तिशाली हुँदै जानुमा जसपाका केही नेताहरूमा पलाएको सत्तामोह पनि एउटा कारण हो । मधेशका मुद्दा समाधान गरिदिन्छु भनेर ओलीले जसपाका नेताहरूलाई इन्गेज गराइरहेका छन् । जसपा नेता महन्थ ठाकुरकाअनुसार संविधान संशोधन गर्न आयोग नै बनाउन ओली तयार छन् ।

मधेश तथा थरुहट आन्दोलनमा घाइते भएकालाई क्षतिपूर्ति दिने, मृत्यु भएकालाई सहिद घोषणा गर्ने लगायतका मागहरू पूरा गर्न ओली तयार भएपछि ओलीविरुद्ध बन्न लागेको वैकल्पिक गठबन्धन तुहिएको छ ।

जसपाले आफ्नो माग सम्बोधन भएको खण्डमा ओलीलाई नै साथ दिने बताइरहेको छ । सके आफैंले प्रधानमन्त्री लिने, नसके ओलीलाई समर्थन दिने जसपाको नीति देखिएपछि कांग्रेससमेत नयाँ सरकार बनाउने प्रक्रियाबाट पछि हटेको छ ।

स्रोतकाअनुसार जसपालाई ८ मन्त्रालय दिने वचन ओलीले दिएका छन् । केही महत्त्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री र प्रतिनिधि सभाको उपसभामुख पाउने भएपछि अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो मख्ख भएका छन् । यद्यपि डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भने ओलीलाई समर्थन गर्न नसकिने बताइरहेका छन् ।

४.अन्तर्राष्ट्रिय समुदायको साथ

ओलीलाई यतिबेला भारत, अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले पनि दह्रो साथ दिइरहेका छन् । संसद विघटन नेपालको आन्तरिक मामिला हो भनेर भारतले बोलिसकेको थियो । त्यस्तै देश चुनावमा गएमा भारतले सहयोग गर्ने वचन दिएको विभिन्न स्रोतहरूले बताउने गरेका छन् ।

भारतका बुद्धिजीवी र लेखकहरूले त ओलीले भारतकै निर्देशनअनुसार प्रतिनिधिसभा विघटन गरेको बताउने गरेको भन्दै लेखहरूसमेत प्रकाशित गरेका थिए । तर पछिल्लो घटनाक्रमहरूले ओलीको भारतसँगको सम्बन्ध राम्रो रहेको पुष्टि गर्छ ।

ओलीले अमेरिकी सहयोग परियोजनाको पक्षमा दह्रो गरी उभिएर अमेरिकाकोसमेत समर्थन हासिल गरेका छन् । तर चीनसँगभने ओलीको सम्बन्ध त्यति राम्रो नरहेको बताउने गरिन्छ ।

५.ओलीको आत्मविश्वास

नेपालको राजनीतिक वृत्तमा ओलीको आत्मविश्वासको स्रोत के हो भनेर पटक-पटक चर्चा हुने गर्छ । ओली अहिले राजनीतिका माहिर खेलाडी मानिन्छन् । उनको आत्मविश्वासको स्रोत उनी आफैं रहेको बालुवाटारनिकट एक नेताले बताए ।

१८ ‘घण्टाभन्दा बढी काम गर्नुहुन्छ, २ घण्टाभन्दा बढी पढ्नुहुन्छ, बालुवाटार आउ-जाउ गरिरहने एक नेताले दाबी गरे, प्रधानमन्त्री ओलीको आत्मविश्वासको स्रोत उहाँ आफैं हो । विशेष गरेर मिर्गौलाको पुनःप्रत्यारोपणपछि उहाँले नयाँ जीवन पाएको महसुस गर्नुभएको छ । नयाँ जीवनलाई देश र जनताप्रति समर्पण गर्ने उहाँको अठोट नै आत्मविश्वासको स्रोत हो ।’

ओली निर्धक्क देखिन्छन् । अप्ठेरोमा पर्दासमेत उनको अनुहारमा दुखको रेखा देखिन्न । प्रतिनिधि सभा विघटनपछि उनी देश दौडाहामा हिंडे । चिकित्सकहरूको सल्लाहविपरित ओलीले एकैदिनमा ३ वटासम्म कार्यक्रममा गएर सम्बोधन गरेका थिए ।

उनले विपक्षीलाई रौँबराबर गन्दैनन् । उनको यही आत्मविश्वासमा आफ्नो भविष्य देखेर माओवादी केन्द्रबाट धेरै नेता तथा सांसद ओलीतिर लागेका छन् ।

प्रतिनिधिसभा विघटनअघि ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका थिए, ‘ओली खालिखुट्टा बालकोट गएर आराम गर्ने व्यक्ति होइन । प्रचण्ड-माधव कमरेडहरूले ओलीलाईअध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रयास गर्नु बेकार छ ।’

अहिले रिमालको भनाइ चरितार्थ भएको छ । ओली प्रधानमन्त्री नै छन् अझ शक्तिशाली एमालेको अध्यक्ष नै छन् । राजनीतिको केन्द्रमा छन् । यतिबेला राजनीति ओली पक्ष र ओलीको विपक्ष गरी दुई ध्रुवमा बाँडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट