काठमाडाैं – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर सिटी एफसीलाई काठमाडौंले १–० ले हरायो।
घरेलु फुटबलको यो पहिलो फ्रेन्चाइज लिग हो।
काठमाडौंलाई जिताउन ६६ औं मिनेटमा मेसौके गरेको गोल नै निर्णायक बन्यो। अर्का विदेशी खेलाडी स्टेफन समिरले प्रहार गरेको बललाई गोलरक्षकले रिबाउन्ड गरेको बललाई पोष्टको दिशा दिएका थिए।
त्यसअघि खेलको ३३ औं मिनेटमा काठमाडौका स्टेफनको प्रहार बारमा लागेर फर्कदा अग्रता बनाउनबाट चुकेको थियो। खेलको ७१ औं मिनेटमा ललितपुरका नुर्लान जहिदले गरेको प्रहार गोलरक्षक विकेश कुथुले राम्रो बचाउ गरे। दोस्रो हाफको अतिरिक्त समयमा गरेको दुई प्रहारलाई विकेशले रोक्दा ललितपुरले बराबरी गर्न सकेन।
एनएसएलमा आइतबार विराटनगर सिटी एफसी र धनगढी एफसीबीच खेल हुँदै छ। दिउँसो साढे २ बजे यी दुई टिमबीच पहिलो खेल हुनेछ भने आइतबार नै साँझ ५ः३० बजे दोस्रो खेलमा लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्नेछ।