काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्ध लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा ओलीले कोरोनाका कारण उत्पन्न हुनसक्ने परिस्थिति सामना गर्न पार्टीपंक्ति सक्रिय हुनुपर्ने बताए।
‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड–१९ विरुद्ध लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ। सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी गराउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।
बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए। स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो।
‘लकडाउन आफैंमा अन्तिम समाधान होइन। त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ’, ज्ञवालीले भने। त्यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेसबुकमार्फत लेखेका छन् – कोभिड–१९ को संक्रमण विस्तारप्रति गंभीर हुन विशेष निर्देशित गर्दै सम्पन्न भएको छ।’