काठमाडौं- उज्यालो नेटवर्क डटकममा आबद्ध पत्रकार अनिश तामाङलाई तत्काल रिहाइ गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखाले माग गरेको छ । आइतबार नेटवर्कको कार्यालयबाट तामाङ प्रकाउ परेलगत्तै युनियनले प्रेस विज्ञप्ति निकालेर उनको रिहाइको माग गरेको हो ।
कार्यालयमा प्रहरीले हस्तक्षेप गरी पत्रकार तामाङ पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रेस युनियन काठमाडौं शाखा सञ्चारगृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गर्दछ । प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालतलेसमेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त निन्दनीय विषय हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछ । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् ।’
प्रेसलाई तर्साउने नियतले हुने जुनुकनै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य नहुने बताउँदै गिरफ्तारमा परेका पत्रकारको रिहाइ गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल युनियन काठमाडौं शाखाले सरकारको ध्यानाकर्षण गराएको छ ।