कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान, माइकिङ गरेर सुरक्षित रहन आग्रह-Sutra News

कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान, माइकिङ गरेर सुरक्षित रहन आग्रह

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

डोटी- विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान सुरु गरेको छ ।



‘आफ्नो जीवन आफैं सुरक्षित’ भन्ने नाराका साथ प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना संक्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । जिल्लामा पछिल्लो समय दुईजनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

विश्वलाई नै आक्रान्त पारेको कोभिड-१९ का विरुद्धमा प्रहरीले माइकिङसमेत गर्न थालेको छ । विश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

उनकाअनुसार कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन समुदायमा खटिएको प्रहरी टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनाका साथै भीडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको छ ।

कोरोना भाइरसबारे सर्वसाधरणलाई जानकारी गराउन तथा उक्त रोगबाट बचाउनका लागि यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उनले भने, ‘कोरोना भाइरसबाट बचाउन अभियान थालनी गरेका छौँ, ज्यानभन्दा ठूलो केही छैन, आफू बचौँ र अरूलाई पनि बाच्न दिऔँँ भन्ने हाम्रो लक्ष्य र चाहना हो ।’

यसैगरी, कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै यहाँको जिल्ला प्रशासन कार्यालयले मेला महोत्सव तथा सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण र त्रास फैलिरहेको बेला डोटीमा पनि यसको सतर्कता अपनाउन थालिएको छ ।

जिल्लाका नौवटै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला महोत्सव तथा सभासम्मेलनहरू स्थगित गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट