कोरोना संक्रमण फैलियो, तयारी छैन-Sutra News

कोरोना संक्रमण फैलियो, तयारी छैन

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

भजनी- पछिल्लो सयमा कोरोनाको संक्रमण दरमा वृद्धि हुँदै गएको छ । यसका रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी नगरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ ।



स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण समेत बन्द गरेका छन् । कतिपयले बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताएका छन् ।

टीकापुर नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । अहिले नगरपालिकामा कोरोना परीक्षणको कामसमेत बन्द छ ।

नगरपालिकामा यही वैशाख १ गते १४ जना पिसिआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना संक्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा संक्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

‘नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन । नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रक्रिया अगाडि बढ्न नसकेको हो’, उनले भने, ‘आज/भोलिसम्म बैठक बस्छ । बैठक निर्णयनुसार हामी कामलाई अगाडि बढाउने छौँ ।’

उनले नगरपालिकामा कोरोना परीक्षण नहुँदा शंकास्पद बिरामी नेपालगञ्ज, धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्यांक नगरपालिकालाई जानकारी गराउने गरेको भए पनि नेपालगञ्जको तथ्यांक नगरपालिकामा नआउने गरेको जानकारी दिए ।

‘हामीसँग ३८ शैय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा छ । त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ’, उनले भने, ‘स्थिति पहिलेकोभन्दा पनि नराम्रो हुने संकेत देखा पर्दै गएका छन । हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन ।’

भजनी नगरपालिकाले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएको छैन । नगरपालिकाका कोभिडको शीर्षकमा बजेट छैन । भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ ।

नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन् त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिए ।

नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताए ।

जानकीमा पनि अवस्था उस्तै रहेको छ । गाउँपालिकाले तयारीको प्रक्रिया अगाडि बढाएको भने पनि तयारी भइनसकेको पाइएको छ । कोरोनाका शंकास्पद बिरामीको गाउँपालिकामा सहजै परीक्षण हुन सकेको छैन ।

‘आकस्मिकरुपमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ । पहिलेको जस्तो परीक्षण सुरु गरिसकेको अवस्था छैन । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘आइसोलेशन तयारी अवस्थामा राखेका छौँ । किटको अभाव छ । टीकापुर अस्पतालसँग समन्वय भइभइरहेको छ ।’

टीकापुर अस्पतालले आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले आइसोलेशन वार्ड तयार भइरहेको जनाउँदै अन्य तयारी भइरहेको जानकारी दिए । कोरोनाको लक्षण देखिएका संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेशन तयार पार्न लागेको हो ।

स्थानीय तह अहिले प्रदेश र संघीय सरकारको निर्देशनको पर्खाइमा छन् । संघीय सरकारले केही निर्देशन दिएको भए पनि यसको कार्यान्वयनमा स्थानीय तह पछाडि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट