काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ को संक्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ ।
कोरोनाको संक्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत संक्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ ।
सो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिस सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आइतबार सूचना जारी गरी जनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । यसअघि प्रशासन कार्यालयले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिसकेको छ ।