काठमाडाैं : गण्डकी प्रदेशसभा विशेष अधिवेशन आज(सोमबार) देखि सुरु हुने भएको छ। दिउँसो २ बजे हुने अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउने छ।
आजबाट हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने छ। पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेस गर्न हिजो(आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको थियो।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन्।
त्यसपछि अन्य सांसदले बोल्ने कार्यक्रम छ। छलफल सकिएपछि बढीमा ३ दिनमा अविश्वास प्रस्ताव टुंगो लाग्ने छ। अविश्वास प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। राष्ट्रिय जनमोर्चाले प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने प्रतिबद्धता जनाएको छ।
यहाँ एमालेका २७ सांसद छन्। एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका छन्।अविश्वास प्रस्ताव सफल पार्न कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले साझा प्रतिबद्धता जनाएका छन्।