काठमाडाैं – म्यानचेस्टर सिटीले लगातार चाैथो पटक इएफएल कपको उपाधि जितेको छ। गए राति भएको फाइनलमा टोटनह्यामलाई १-० ले हराउँदै सिटीले उपाधि कब्जा गरेको हो।
सिटीका लागि निर्णायक गोल ८२ औं मिनेटमा डिफेण्डर एमरिक लापोर्टेले गरे।
केभिन डी ब्रुएनको फ्रिकिकमा पेनाल्टी एरिया नजिकैबाट टोटनह्यामका सब्स्टिच्युड स्ट्राइकर मोउसा सिसिकोभन्दा माथि उक्लेर लापोर्टाले गरेको हेडिङ विश्वविजेता फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले थाहै पाएनन्।
खेल अवधिभर सिटीले धेरै अवसर सिर्जना गरे पनि गोल गर्नबाट भने चुकेको थियो। भर्खरै मात्र प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको टोटनह्यामका खेलाडी खुलेर खेल्न नसकेजस्तो देखिएको थियो।
माउरिन्होलाई र्यान मासोनले प्रतिस्थापन गरेका हुन्। म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले फाइनल यात्रा तय गरेको थियो। सिटीले २०१७–२०१८, २०१८-२०१९, २०१९-२०२०, २०२०-२०२१ सम्म लगातार लिग उचाल्न सफल भयो।
योसँगै सिटीले लिभरपुल झैं समान ८ पटक इएफएल कप जितेको छ भने एक पटक फाइनल खेल गुमाएको थियो।