काठमाडाैं – मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेन्डामै रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। बैठकले कोरोनाविरुद्ध सिसिएमसीको बैठकले सिफारिस गरेका केही महत्त्वपूर्ण निर्णय पनि गर्न सक्ने जनाइएको छ।
काठमाडाैं उपत्यकाका तीनै जिल्लाका सिडियोको बैठक पनि बस्दै
आजै काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।
उपत्यकामा कोरोना भाइरस सक्रिय संक्रमित बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो। काठमाडौंको सिडिओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ।
यसैबीच हिजो साँझ (आइतबार) उपत्यकाका तीन वटै जिल्ला प्रशासनले कार्यालयमा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने जनाएका थिए।
तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले यस्तो निर्णय गरेका थिए। सोमबार(आज) देखि लागु हुनेगरी एक साता कार्यालय बन्द हुने निर्णय गरिएको थियो।
सक्रिय संक्रमित संख्या उच्च रहेको र जोखिम बढ्दै गएकाले उपत्यकाका तीनै जिल्लामा लकडाउन गर्ने या नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए।
हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार भन्दा धेरै छ। यो संख्या सिसिएमसीले तोकेको मापदण्डभन्दा धेरै हो। सिसिएमसीले तराईमा ५०० र पहाडमा २०० जना सक्रिय संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।