काठमाडौं- नेकपा माओवादी केन्द्रले कोरोना भाइरसविरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले कोरोनाको दोस्रो लहर विरुद्धको अभियानका लागि सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको हो ।
बैठकको निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘कोभिड १९ को महामारीका विषयमा गम्भीर छलफल भयो । पहिलो कुरा विश्व नै कोभिड महामारीको अर्को लहरबाट गाँजिएको छ । नेपालमा पनि दोस्रो लहर तीव्र रुपमा अगाडि बढिरहेको छ । त्यसले जनताको जनजीवन, जनताको रक्षाको प्रश्न, जनस्वाथ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रलगायत सबैतिर नकारात्मक असर पर्दै गइरहेको छ’ श्रेष्ठले भने, त्यसैले कोभिड–१९ बहुआयामिक प्रभावलाई सम्बोधान गर्न र मूख्यतः यसको रोकथाम र नियन्त्रणका लागि देशका सबै सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्य विद्, सामाजिक संघ संगठन, स्वाथ्यकर्मीहरु हातेमालो गर्दै अगाडि बढ्न माग गरेको छ । साथसाथै यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको छ ।’
छिमेकी मुलुक भारतमा कोरोनाको महामारी भयावह बनेको र नेपाल–भारत सीमा खुला भएकोले कडाईपूर्वक नियन्त्रण, नेपाली नागरिकमात्रै नेपाल आउन पाउने नियमलाई कडाइपूर्वक लागू गर्न र नेपाल आउने नागरिकहरु पनि अनियवार्य परीक्षण प्रक्रिया तथा अन्य स्वास्थ्य मापदण्ड पूरा गर्नै पर्ने गरी व्यवस्था गर्न पनि माओवादी केन्द्रले सरकारसँग माग गरेको छ ।