गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि आज (बुधबार) मतदान हुने भएको छ।
प्रदेशसभा भवनमा दिउँसो १ बजे बैठक बस्ने छ। बैठकमा आज बाँकी सांसदले धारणा राख्ने काम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ। सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदानको तयारी हुने बताइएको छ।
प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अविश्वास प्रस्ताव पेस गरेका थिए।
अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ। यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद् अन्त्यको सिफारिस गरेका थिए।
लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गरेका थिए। तर, प्रतिपक्षी दलले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गरेका हुन्।
यसअघि हिजोको प्रदेशसभा बैठक सत्तापक्ष एमालेकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। कोरोना संक्रमणको जोखिम भएकोले बैठक बस्न नसक्ने भन्दै अवरोध गरेपछि हिजो नै सबै सांसद र प्रदेशसभाका कर्मचारीको कोरोना परीक्षण गरिएको छ।
आज परिक्षणको रिपोर्ट आएपछि बैठक बस्ने सचिवालयले तयारी गरेको छ। कोरोना पोजेटिभ देखिएकालाई पनि स्वाथ्य सुरक्षाका मापदण्ड र सामाजिक दुरी कायम गरी मतदानको व्यवस्था गरिएको हो।