काठमाडौं- सरकारले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने उनकाे भनाइ छ ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले बताए ।
मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही हप्ता अगाडि जसपाका नेताहरूलाई बालुवाटार बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग जसपाका नेताहरूले आफ्ना माग पूरा गर्नुपर्ने बताएका थिए ।
सो क्रममा मधेस आन्दोलनमा घाइते तथा अपांग भएकाहरूको उपचार, जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ गर्नुपर्ने माग जसपाले राखेको थियो ।