

काठमाडाैं – बाँकेमा कोरोना संक्रमणबाट एकै दिन ८ जनाको मृत्यु भएको छ। बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एक जना गरी ८ जनाको मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको हो।
यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको हो। वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो। योसँगै बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ।
भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ।
नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचार क्रममा मृत्यु भएको ओलीले बताए।
बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजमा उनलाई भर्ना गरिएको थियो। उनलाई बुधबार भेरी अस्पतालमा लगिएको थियो। उनको बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
बर्दियाका ३२ वर्षीय पुरुष बुधबार भेरी अस्पतालमा भर्ना भएका थिए। उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।