काठमाडाैं – नेकपा माओवादी केन्द्रले एमाले ओली पक्षमा लागेका रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट निष्काशन गरेको छ। जसमा एक जना सहरी विकास मन्त्री प्रभु साहकी श्रीमतीसमेत छिन्। उनी माैलापुर नगरपालिकाकी मेयर रिनाकुमारी महतो हुन्।
माओवादीबाट चुनाव जितेका उनीहरू एमालेको ओली खेमातिर लागेपछि पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए। उनका अनुसार उनीहरूलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचारसमेत गरिसकेको छ।
निष्कासनमा परेकाहरूमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाका उपमेयर सिमल साह, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवी छन्।
उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालिएको सचिव पटेलले जानकारी दिए। ओली खेमातिर लागेपछि माओवादीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। तर, कसैले पनि स्पष्टीकरण नदिएपछि पार्टीले कारबाही गरेको बताइएको छ।