काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका गण्डकी प्रदेशसभा सदस्य खेमविक्रम शाहीले आफू बिरामी भएर अस्पताल भर्ना भएको बताएका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने बेलामा बेपत्ता भएका सांसद शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको बताएका हुन् ।
जनमोर्चाकै सांसदले उनलाई बन्दक बनाएर अस्पताल पुर्याएको भनेर आशंका गरेका बेला यसबारे प्रष्ट पार्न उनले बिहीबार एक पत्रमार्फत जानकारी गराएका छन् ।
पत्रमा शाहीले सदनमा जाने भनी तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको बताएका छन्।
‘सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ शाहीले पत्रमा भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’
उनले पार्टीको र संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको प्रष्ट पारेका छन् ।
‘साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्वता कायमै छ,’ पत्रमा शाहीले भनेका छन् ।